काभ्रे—जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। प्रहरी वृत्त, बानेश्वरका अनुसार उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको बताइएको छ ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेकहरू नसाटिएपछि पीडितहरूले जाहेरी दर्ता गरेका थिए।

उनले रकम भुक्तानी दिन राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताका चेक जारी गरेका थिए। यद्यपि, उक्त चेकहरू फिर्ता भएपछि बैंकिङ कसुरको मुद्दा दर्ता गरिएको हो।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुखमा निर्वाचित भएका थिए।

गौतमले काठमाडौंमा जारी गरेका तीन चेकसम्बन्धी विवाद मिलापत्र भएको दाबी गरे पनि उनी प्रमाण प्रस्तुत गर्न असफल भएका छन्। बैंकिङ प्रणालीमा खराब आर्थिक कारोबारका कारण उनी कालोसूचीमा परेका छन्।

बैंकमा खाता खोल्न नमिल्ने भएपछि उनले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गरिरहेका थिए। सोही खातामा उनको तलब र सुविधा जम्मा हुँदै आएको थियो। तर, उक्त खाता पनि कालोसूचीमा परेको र हाल रोक्का अवस्थामा रहेको प्रहरीले जनाएको छ।