म नरहेपनि - रहिरहनेछ यो धरती 

म मरेपनि - बाँचिरहनेछ यो दुनियाँ 

मेरो प्राण रोकिएपनि - चलिरहनेछ यो बतास ।

**     **

उसैगरी 

प्रत्येक बिहान उदाउने छ घाम  

हलो-कोदालो बोकेर मेलापात जानेछन् किसानहरु 

पुस्तक बोकेर विद्यालय जानेछन् बालबालिकाहरु 

उधोग- कलकारखाना तर्फ लामबद्धहुनेछन् मजदुरहरु । 

**     **

उजेली लिएर आउँनेछ जून 

डाँडामाथिको घामलाई जुवामा नापेर 

घर फर्कनेछन् गोठालाहरु

हतार घर फर्कनेछन् बजार गएकाहरु 

मैले जस्तै सुनौलो विहानीको सपना देख्नेछन् स्वप्न द्रष्टा ।

**     **

म नहुँदा 

आकास खस्ने छैन

पाताल भासिने छैन

सगरमाथा झुक्ने छैन 

महासागर सुक्नेछैन 

म नहुनु, मात्र म नहुनु हो

सपनाहरूको अन्त्य होइन 

दौडिरहनेछ समय आफ्नै वेगमा ।

**     **

मेरो जीवन रोकिनु, सृष्टि रोकिनु होइन

मेरो चेतले काम नगर्नु, विज्ञानको गति रोकिनु होइन 

मेरो धुकधुकी रोकिनु, घडीको सुई टक्क अडिनु होइन 

मेरो अवसान, मात्र मेरो अवसान हो

जीवन र जगत  चलिरहनेछ ।

**     **

फरक यति मात्र हो 

मेरी छोरीका लागि बुवा नहुनुको पीडा थपिनेछ 

मेरी प्रेयसीका लागि खसम नहुनुको चोट थपिनेछ 

परिवारका लागि एक सदस्य नहुनुको अभाव थपिनेछ 

मेरो नामको अगाडी अलौकिक शब्द स्वर्गीय“ थपिनेछ 

र म स्वर्गीय भीमज्वाला राई हुनेछु ।

।।।

१४ चैत २०८१, धरान