काठमाडौँ—प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे ।
उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।
पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।
पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।




















