काठमाडौँ — सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भर्चुअल बैठकमार्फत चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशलाई सम्मान गर्ने निर्णय गर्दै, आगामी कानुनी प्रक्रिया शान्तिपूर्ण ढंगले अघि बढाउने जनाएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, "सभापति लामिछानेले आफ्नाे भिडियो सन्देशमा भनेझैँ, अदालत र कानुनको निर्णयको सम्मान गर्दै अर्को तहमा न्याय खोज्ने प्रक्रिया अघि बढाइनेछ।"

पार्टीले सभापति लामिछानेलाई पक्राउ पुर्जी बिना पक्राउ गरिएकोप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। "सभापतिको घरभित्र, त्यो पनि शयनकक्षमा प्रवेश गरी पुर्जी लेखिएको कार्य विधिको शासनविपरीत र क्षम्य नभएको" पार्टीको भनाइ छ। रास्वपाले यसलाई "गैरसंवेदनशील र गैरकानुनी कार्य" भनी भत्सर्ना गरेको छ।

शनिबार चितवनमा आयोजना हुने जनयात्रा शुभारम्भ सभालाई भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ। "राज्यले विवेक गुमाएको बेला पार्टीले विवेक गुमाउन हुँदैन," बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। सभामा सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्न सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर बन्न निर्देशन दिइएको छ।

सभापति लामिछानेले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्, जसलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको छ।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीद्वारा उक्त आदेश जारी भएको हो।