कर्णाली — भारतको उत्तराखण्ड राज्यस्थित काँशीपुरबाट जुम्लाका एक युवा १३ दिनदेखि सम्पर्कविहीन भएका छन्। सिञ्जा गाउँपालिका–५, शनिगाउँ निवासी २५ वर्षीय सूर्यचन बुढा चैत्र ११ गतेदेखि बेपत्ता हुन् ।
परिवारका अनुसार चार जना अपरिचित नेपालीले खाजा खान बोलाई विषादी खुवाएर बेहोस बनाएको विवरण प्राप्त भएको छ। उनीहरूमध्ये दुई जना होशमा आएपछि नेपाल फर्किएका छन् भने सूर्यचनको अवस्था अझै अज्ञात छ।
साथीहरू अनबहादुर बुढा र वीरेन्द्र रोकाया समेत बेहोस पारिएका थिए। उनीहरूका अनुसार रु. १ लाख १७ हजार भारतीय रुपैयाँ लुटिएको थियो। तीनै जना भारतको गढवाल क्षेत्रमा चार महिनादेखि मजदुरी गर्दै आएका थिए र घर फर्कने क्रममा सो घटना भएको हो।
सूर्यचनका आफन्त घनश्याम बुढाका अनुसार परिवारजनले खोजीका लागि भारत समेत गएका छन् र सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई सहयोगको आग्रह गरेका छन्।




















