काठमाडौं—टेक्सासका सांसद अल ग्रिनले आगामी ३० दिनभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव हाउस अफ रिप्रेजेन्टेटिभमा पेश गर्ने घोषणा गरेका छन्।

ग्रिनका अनुसार ट्रम्प सरकारको पछिल्लो नीतिहरूले देशव्यापी विरोध प्रदर्शनलाई उक्साएको छ। प्रदर्शनकारीहरूले ट्रम्प र व्यवसायी इलन मस्कमाथि सर्वसाधारणको दैनिकीलाई असहज बनाएको आरोप लगाएका छन्।

गत फेब्रुअरी ५ मा सिनेटसमक्ष ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाका लागि गाजाको भूभाग कब्जा गर्नुपर्ने प्रस्ताव राखेका थिए। यस कदमले पनि सांसद ग्रिनलाई महाभियोग प्रस्ताव पेस गर्न प्रेरित गरेको छ।

महाभियोग प्रक्रियामा सिनेटमा दुई-तिहाइ बहुमत आवश्यक पर्नेछ। तर, तल्लो सदन र माथिल्लो सदनमा हाल रिपब्लिकन पार्टीको बहुमत रहेकाले यो प्रस्ताव पारित हुने सम्भावना न्यून देखिन्छ।