सुर्खेत—नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिलेको राजनीतिक परिवेशमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले बाहिरी चर्चा र अड्कलहरू चलिरहेका भए पनि वस्तुगतरूपमा सरकार परिवर्तनको औचित्य नभएको बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छिट्टै परिवर्तन हुने संकेत दिइरहेका बेला महासचिव गुरुङले भने वर्तमान सरकारलाई निरन्तरता दिन उपयुक्त हुने धारणा राखेका छन्। उनले भने, “छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई निरन्तरता दिनु नै उपयुक्त उपाय हो।”
देशमा देखिएका शिक्षक, कर्मचारी र चिकित्सकहरूको आन्दोलनजस्ता समस्याहरूको समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले उल्लेख गरे। सहमति नहुँदासम्म सरकार परिवर्तनको औचित्य नभएको भन्दै उनले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
साथै, सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू र केही व्यक्तिको अनुमान विपरीत मध्यावधि निर्वाचनको सम्भावना पनि नरहेको उनले स्पष्ट पारे। उनले भने, “अराजक तत्त्वहरू र भ्रष्ट सहकारी माफियाहरूको स्वार्थका कारण देशमा अराजकता बढिरहेको छ। यस्तो अवस्थामा सबै असन्तुष्ट पक्ष र दलहरूबीच संवादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ।”
महासचिव गुरुङका अनुसार माओवादी केन्द्रभित्र पनि सरकार परिवर्तनबारे कुनै आधिकारिक छलफल भएको छैन। यो विषय बाहिरी अड्कल र व्यक्तिगत विचारमा आधारित मात्र रहेको उनले बताए।
त्यस्तै, पछिल्लो समय काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनबारे टिप्पणी गर्दै गुरुङले यसलाई सामन्ती प्रवृत्तिको परिणाम भनेका छन्। उनले गणतन्त्रको महत्त्व जनतामा बुझाउनुपर्ने आवश्यकता औंल्याए। राजा फर्काउनेबारे उठेका केही विचारप्रति प्रष्ट प्रतिक्रिया दिँदै उनले यसलाई असान्दर्भिक र अव्यवहारिक भने।
गुरुङको यो अभिव्यक्ति माओवादी केन्द्रभित्र देखिएको नेतृत्वको विभिन्न दृष्टिकोण र बाहिरी राजनीतिक परिदृश्यप्रति थप चासो बढाएको छ।




















