काठमाडौं—परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तन हुने कुरा केही मानिसहरूको रमाइलोका लागि मात्र फैलाइएको हल्ला भएको बताएकी छन्। शुक्रबार थाइल्यान्डबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो विषय आफूलाई पनि चकित तुल्याउने खालको भएको बताइन ।
“देशमा रमाइलोका लागि यस्ता समाचारहरू आउने गर्दछन्। अरू केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ। सरकार बदल्न नेपालभित्र बसेर गर्नुपर्ने हुन्छ, विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन। हामी आफै पनि चकित पर्यौँ यो कुरा सुनेर। बेलुका सभापतिज्यू र प्रधानमन्त्रीज्यूका बीचमा कुराकानी हुन्छ, अरू केही छैन,” उनले भनिन ।
परराष्ट्र मन्त्री राणा थाइल्यान्डको बैंककमा वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१ औँ सत्रको अध्यक्षता गरी स्वदेश फर्किएकी हुन् । कार्यक्रममा उनले अति कम विकसित, भूपरिवेष्टित विकासशील, र साना टापु विकासोन्मुख मुलुकहरूको साझा चासोका विषयहरू उठाएको बताइन ।
कांग्रेस सभापति शेरबहादुर देउवाको भ्रमणबारे पनि राणाले प्रस्ट पार्दै उहाँ स्वास्थ्य परीक्षणका लागि मात्र बैंकक गएको जानकारी गराइन ।




















