जनकपुरधाम—नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोराको संलग्नता आरोप प्रमाणित गर्न नसके कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौतीसमेत दिएका हुन् ।

उनले भने, 'चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्वीर सार्वजनिक गर्नुस्। होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौँ।'

गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दाबी गरेका थिए।

गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए। उनले राखेको अभिव्यक्तिको केहीबेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए।

नेता यादवका दुई सन्तान मात्र छन्। डा आकाश यादव र डा विकास यादव। मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दनविरुद्ध अदालत जाने पत्रकार सम्मेलन जानकारी गराए।

उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे। दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप सहमहामन्त्री यादवको छ।

कांग्रेसले लिङ्देनको अभिव्यक्तिलाई भ्रम फैलाउने प्रयास भन्दै मधेशका आठ जिल्लामा ज्ञापनपत्र बुझाउने र विरोध प्रदर्शन गर्ने योजना सार्वजनिक गरेको छ।

यसअघि धनुषाका कांग्रेस कार्यकर्ताले जनकपुरधाममा चक्काजाम र लिङ्देनको पुतला दहन गरेका थिए।