विराटचोक— मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय धन बहादुर डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिल रोगले ग्रस्त थिए। कमजोर आर्थिक अवस्थाका कारण उनी उपचार गर्न असमर्थ थिए, जसले गर्दा उनी जीवनभरको मेहनतपछि पीडामा मृत्यु कुर्न बाध्य भएका थिए।

यो दु:खद परिस्थितिबारे जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्कीले मानवीय संवेदनासहित यो विषय नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मासमक्ष पुर्याइन्।

खबर प्राप्त हुनासाथ डा. शर्माले नोबेल मेडिकल कलेजमा सम्पर्क गरी तुरुन्तै आवश्यक निर्देशन दिए। उनको पहलमा स्वास्थ्यकर्मी टोलीसहितको एम्बुलेन्स कानेपोखरी पठाइयो र डाँगीलाई अस्पताल पुर्याइयो।

हाल डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य सुधार भइरहेको छ र छिट्टै पूर्ण स्वास्थ्यलाभ हुने अपेक्षा गरिएको छ।

डा. सुनिल शर्माको मानवीयता

डा. सुनिल शर्मा ती विरलै भेटिने सांसदहरूमध्ये एक हुन्, जसले आफ्नो तलबभत्ता नलिने निर्णय गर्दै आएका छन्। उनी देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्न सक्रिय छन्। यस्ता शिविरहरूबाट उपचार सम्भव नभएका बिरामीलाई उनी काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँछन्।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टीको पहिचान नहेरी सबै नेपालीलाई समान सेवा दिने उनको प्रतिबद्धता आज पनि उदाहरणीय छ।

यसबाहेक, हालै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने आफ्नो निजी लगानीबाट देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।

डा. शर्माको यो मानवीयतापूर्ण कार्यले "नेता भनेको जनताको साँचो अभिभावक हो" भन्ने सन्देश दिएको छ। यसले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ र कठिन परिस्थितिमा रहेका वृद्ध नागरिकको जीवनमा नयाँ आशाको किरण थपेको छ।