कैलाली—सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।
आइतबार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबिच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभाको चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिन पहिले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएका थिए । संसदीय दलको बैठकले अध्यक्षको निर्देशन विपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
शनिबार बसेको अर्को बैठकले विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पदको शपथ ग्रहण गराउन सिफारिस गरेको थियो । सात प्रदेश सभा सदस्यमध्ये चार जनाको उपस्थितिमा बहुमतको आधारमा चौधरीको नाम टुङ्गो लगाइएको सो दलले भनेको थियो ।
कैलाश चौधरी मन्त्री बन्नबाट पछाडि हटेपछि रामेश्वर चौधरीलाई अगाडि सारिएको थियो । रञ्जिता श्रेष्ठको निर्देशन विपरित रेशमले अघि सारेका व्यक्तिलाई मन्त्री बनाइएको छ । सो विषयले उनीहरुबीच थप विवाद बढेको छ ।




















