काठमाडौं– उत्पादनमुलक क्षेत्र क्रमशः लयमा फर्कँदै गर्दा प्रतिसेयर आम्दानीमा पनि सुधार हुन थालेको छ। यी क्षेत्रका उद्योगहरूको प्रकाशित वित्तीय विवरणले उनीहरूको आर्थिक अवस्था सुधार हुँदै गएको देखाएको हो। 

सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट, शिवम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण तुलनामा गर्दा उनीहरूमध्ये केहीको आर्थिक अवस्था सुध्रँदै गएको देखिएको छ।

चालु आर्थिक बर्ष (आव)को तेस्रो त्रैमाससम्ममा रिलायन्सको ईपीएस २५ रुपैयाँ ४९ पैसा पुगेको छ। 

यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको ईपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो। गत आवको असारमा कम्पनीको ईपीएस २ रुपैयाँ ९५ पैसा थियो। 

त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो ।

सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेका कम्पनीहरुसँगको तुलनामा समेत रिलायन्स स्पिनिङ्गको ईपीएस अब्बल देखिएको छ।  

पछिल्लो पाँच आर्थिक वर्षको विवरण हेर्दा प्रिमियम मूल्यमा आइपीओ ल्याएका सर्बोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र शिवम सिमेन्टको तुलनामा रिलायन्सको ईपीएस राम्रो देखिन्छ। 

आर्थिक वर्ष २०७७–७८ देखि २०८०–८२ र चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरणकाअनुसार प्रति शेयर आम्दानीमा रिलायन्स स्पिनिङ्गको ईपीएस बलियो देखिएको छ।  

आर्थिक वर्ष २०७७–७८ मा रिलायन्स स्पिनिङ मिल्सको ईपीएस यी पाँच वटै कम्पनीहरूमध्ये सबैभन्दा धेरै ५३ रुपैयाँ ९१ पैसा रहेको थियो । आव २०७८–७९ मा यस कम्पनीको ईपीएस ६१ रुपैयाँ १२ पैसा,  आव २०७९–८० मा ५४ रुपैयाँ ३४ पैसा र आव २०८०–८१ मा २ रुपैयाँ ९५ पैसा रहेको थियो। 

चालु आवको पहिलो त्रैमाससम्ममा रिलायन्सको ईपीएस फेरि बढेर १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा २२ रुपैयाँ १९ पैसा र तेस्रो त्रैमासमा २५ रुपैयाँ ४९ पैसा पुगेको हो। 

आव २०७७–७८ मा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको थियो। त्यस्तै शिवम् सिमेन्टको ३७ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी रहँदा सोनापुर सिमेन्टको १६ रुपैयाँ १४ पैसा थियो। घोराही सिमेन्टको भने सबैभन्दा कम ११ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी रहेको थियो। 

आर्थिक वर्ष २०७८–७९ मा कोरोना महामारी लगायतका कारण कम्पनीहरूको ईपीएस घटेको थियो। सो आवमा रिलायन्सको ईपीएस ६१ रुपैयाँ १२ पैसा रहँदा शिवम् सिमेन्टको १५ रुपैयाँ ६७ पैसा, सर्वोत्तम सिमेन्टको ११ रुपैयाँ ५५ पैसा घोराही सिमेन्टको ६ रुपैयाँ ८१ पैसा र सोनापुर सिमेन्टको ६ रुपैयाँ ४७ पैसा रहेको थियो।  

आव २०७९–८० मा रिलायन्सको ईपीएस ५४ रुपैयाँ ३४ पैसा रहँदा शिवम् सिमेन्टको ६ रुपैयाँ ८७ पैसा, सर्वोत्तम सिमेन्टको ५ रुपैयाँ २८ पैसा, सोनापुरको १ रुपैयाँ ४२ पैसा र घोराही सिमेन्टको  १ रुपैयाँ ३४ पैसा थियो। 

आव २०८०–८१ मा रिलायन्सको ईपीएस २ रुपैयाँ ९५ पैसा हुँदा घोराही सिमेन्टको –३१.६८ रुपैयाँ, सोनापुर सिमेन्टको –१६.९१ रुपैयाँ र सर्वोत्तम सिमेन्टको ३ रुपैयाँ ४५ पैसा थियो। 

चालु आवको तेस्रो त्रैमासमा शिवम् सिमेन्टको ईपीएस ९ रुपैयाँ ७९ पैसा छ भने सर्वोत्तम सिमेन्टको १६ रुपैयाँ १६ पैसा पुगेको छ। 

तेस्रो त्रैमासमा सोनापुर मिनरल्सको ईपीएस २ रुपैयाँ ४७ पैसा ऋणात्मक छ भने तेस्रो त्रैमासमा घोराही सिमेन्टको ईपीएस १२ रुपैयाँ १४ पैसा ऋणात्मक छ। यी कम्पनीरहरूमध्ये रिलायन्सको ईपीएस  २५ रुपैयाँ ४९ पैसा पुगेको छ। जुन सर्वाधिक धेरै हो। 

चालु आवमा रिलायन्सले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। लिमिटेडले सार्वजनिक गरेको आव २०८१–८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य सुधार गरेको छ ।  

कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ। गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो। गत आवको असारको तुलनामा चालु आवको चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश सूचकहरूमा वृद्धि गरेको छ।

चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ। गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो। कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको कर तिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड विसं. २०५४ मा स्थापना भएको कम्पनी हो। स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ भने ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रियामा छ। कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन तयारी गरेको छ। जसअनुसार सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्नेछ।