विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गरी सम्मान गर्ने योजना अघि सारेको छ। पछिल्लो समय पति-पत्नीबीचको झैझगडा, लैंगिक हिंसा, र गाली बेइज्जती जस्ता सामाजिक समस्याहरू बढिरहेको भन्दै, यस्ता समस्यालाई न्यूनीकरण गर्न उदाहरणीय जोडीलाई सम्मान गर्ने कार्यक्रमको घोषणा गरेको हो।
उक्त"उत्कृष्ट ढुकुर जोडी" सम्मान कार्यक्रमलाई सामाजिक सुधारका दृष्टिकोणले रोचक, सन्देशमूलक संदेश भन्दै यतिखेर सामाजिक संजालमा पनि चर्चा हुन थालेको छ ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सूचना जारी गर्दै यस्ता जोडीलाई न्यूनतम् सर्त पालना गरेर १० दिनभित्र वडा कार्यालयमा निवेदन दिन भनेका छन् । यसका लागि विभिन्न ११ वटा सर्त राखिएका छन् ।
जसअनुसार विवाह भएको कम्तीमा १० वर्ष भएको हुनुपर्ने, श्रीमान्-श्रीमती दुवैको नेपाली नागरिकता हुनुपर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिकामा बसोबास गरेको हुनुपर्नेछ ।
यसैगरी, छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने, नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने, विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने, निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा/सासु वा ससुरासँग बसेको हुनुपर्ने। अलग भिन्न नभएको हुनुपर्ने सर्त राखिएको छ ।
थप सर्तमा बुवाआमा वा सासु ससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, माया ममता गरेको हुनुपर्ने, हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायमा वा समाजमा श्रीमान्-श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने र निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको हुनुपर्ने तोकिएको छ ।
यी सर्त पूरा गरेर जोडीले आवश्यक कागजातसहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।
यो कार्यक्रम केवल सम्मानको लागि नभई समाज सुधारका लागि पनि राम्रो संदेश दिने र सुन्दरहरैँचाको यो प्रयास अन्य नगरपालिकाका लागि पनि एउटा उदाहरणीय कदम बन्न सक्ने देखिएको छ ।
केहो ढुकुर जोडी ?
नेपालमा ढुकुर जोडीलाई प्रेमको प्रतीक मानिनुका पछाडि सांस्कृतिक, प्राकृतिक, र सामाजिक मान्यताहरूको प्रभाव हुन सक्छ। यसबारे केही तथ्य र सम्भावनाहरू प्रस्तुत गर्न सकिन्छ:
ढुकुरहरू प्रायः जोडीमा देखिन्छन्, र तिनीहरूको सहजीवनले एकअर्काप्रतिको गहिरो समर्पण देखाउँछ। यो मानव समाजमा पनि आदर्श प्रेम र साथको प्रतीकका रूपमा स्वीकारिएको छ।
नेपालको ग्रामीण जीवनमा ढुकुरको आवाज "ढुकुर कुर कुर" सुन्ने अनुभवले प्रकृतिप्रतिको प्रेम र जीवनको सकारात्मक पक्षलाई झल्काउँछ।
ढुकुरहरूको जोडीले आफ्नो सहजीवन र एकता मार्फत प्रेम र आपसी विश्वासको सन्देश दिन्छ।
नेपाली साहित्य, गीत, र कवितामा ढुकुरको जोडीलाई प्रेम र मेलमिलापको प्रतीकका रूपमा वर्णन गरिएको छ।




















