काठमाडौँ— मकवानपुरको थाहा नगरपालिका- ३ मा सोमबार साँझ बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

सोमवार साँझ ७ बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुने पैदलयात्री भएको बताइएको छ।

त्यहाँको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको काठमाडौँ चित्लाङ पालुङ चल्ने बसले सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिएर थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको थियो। बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर थाहा नगरपालिका-९ का लेखापढी व्यवसायी ४० वर्षीय कृष्ण बलामी र सप्तरीको बिष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गम्भीर अवस्थाका घाइते अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ।

सामान्य घाइतेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का रामगुलाम चौधरी रहेका छन्।