विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाकी जनप्रतिनिधि तथा सामाजिक अभियन्ता ईन्दिरादेवी चापागाईंले सामाजिक सेवाबाट आफ्नो सक्रियता बढाउदै उदारणीय कामहरु गर्दै आएकी छन्।
चापागाईंले हालै झापाली समाज इजरायलको सहकार्यमा बिहीबार एक कार्यक्रमका बीच हाम्रो घर आश्रम, विर्तामोडलाई रु एक लाख पाँच हजार बराबरको सहयोग हस्तान्तरण गरेकी छिन । उक्त सहयोगमा एक थान वाशिङ मेसिन र एक थान फ्रिज रहेको छ।
उनको पहलमा सुन्दरहरैँचाका ५, ६, र ८ वडाका चारजना असहायलाई उक्त आश्रममा आश्रय प्रदान गरिएको छ। सामाजिक सेवामा उनको योगदान यत्तिमै सीमित छैन; उनले विभिन्न संघसंस्थाहरूलाई आर्थिक र भौतिक सहयोग गर्दै असहायहरूको जीवनमा सुधार ल्याउने प्रयास गरिरहेकी छन्।
स्थानीय बासिन्दाहरूले उनको यो योगदानलाई अत्यन्त सराहना गरेका छन्। चापागाईंको यो कार्यले समाजमा असहाय र पीडितहरूको आवाजलाई प्राथमिकता दिँदै सहकार्य र सद्भावको उदाहरण प्रस्तुत गरेको स्थानिय समाजसेवी विशाल गुरागाईं बताउछन ।
चापागाईं २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा सदस्य पदमा निर्वाचित भएकी थिइन्। उनी "आमकास नेपाल मोरङ" की सक्रिय सदस्य पनि हुन्, जसबाट उनले धेरै सामाजिक कामहरू सम्पन्न गरिसकेकी छिन्।
उनको नेतृत्व र सामाजिक सेवाका प्रयासले स्थानीय जनताबीच प्रेरणा र आशाको स्रोत बनेको छ।




















