काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सलाई बेचेको छ।

नेकपाका महासचिव विप्लवले सोमबार तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित भेटघाट कार्यक्रममा आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई उपलब्ध गराएको जानकारी दिएका हुन्।
"आलु त हामीले विनोद चौधरीलाई नै दियौं," विप्लवले भने, "लगभग दुई लाख किलो आलु उहाँलाई उपलब्ध गरायौं।" चौधरीले सोचेजस्तो सानो मात्रामा नभई धेरै परिमाणमा आलु उपलब्ध गराउँदा उनी छक्क परेको विप्लवले उल्लेख गरे।


"उहाँलाई लागेको होला, यिनीहरूले बढीमा बिस–तिस हजार किलो आलु उत्पादन गर्लान्। तर, हामीले भनेको लक्ष्यभन्दा धेरै आलु उत्पादन गरेर उहाँलाई उपलब्ध गरायौं। उहाँले यसलाई मिरेकल (चमत्कार) भन्नुभएको थियो," विप्लवले थपे।
चौधरीले हालसम्म आफूलाई आलु आपूर्ति गर्ने सबैभन्दा ठूलो इकाई नेकपा रहेको कुरा पनि विप्लवसँग स्वीकार गरेका छन्।
गत कात्तिक २ गते नेकपा र सीजी फुड्सबीच दुई लाख किलो आलु बिक्री गर्ने सम्झौता भएको थियो।
पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित देशका तीन स्थानमा साना उद्योगहरू सुरु गरेको जानकारी पनि विप्लवले दिए। ती उद्योगहरू नाफामै चलिरहेको दाबी गर्दै उनले पछिल्लो समय कैलालीका आलु किसानहरूसँग अन्तरक्रिया गरेपछि किसानहरू निकै उत्साहित भएको बताए।
नेकपाको यो पहलले सहकारी मार्फत उत्पादनलाई बजारसम्म पुर्याउने प्रयासलाई सकारात्मक रुपमा लिएको विश्लेषण गरिएको छ।