काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजहुने प्रदर्शनका लागि दुई आयोजकलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ। बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम गर्नका लागि एमालेलाई, त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्न अनुमति दिने निर्णय गरेको हो।
१५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने तयारी गरिरहेको छ। उता, राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, र हिन्दूराज्य पुनर्स्थापना जस्ता माग राख्दै प्रदर्शन गर्न लागेका छन्। दुवै पक्षले भृकुटीमण्डप, सहिदगेट, र रत्नपार्कलाई केन्द्रित गर्दै कार्यक्रम आयोजना गर्ने बताएका छन्।
प्रशासनले समय निर्धारणका लागि एमाले र राजावादी समूह (राप्रपा) का नेताहरूसँग छलफल गरेको थियो। विशेषगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग जिल्ला प्रशासन कार्यालयले समय व्यवस्थापनका लागि सम्पर्क गरेको थियो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन्। ‘दुई पक्षबीच समय छुट्टाछुट्टै भएकाले कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने। साथै, अप्रिय गतिविधि रोक्न प्रहरीले सचेत रहेको जानकारी गराएका छन्।




















