टेक्सस, अमेरिका — टेक्ससका रुमेटोलोजिस्ट डा. जोर्ज जामोरा-क्वेजादालाई सजाय सुनाइएको छ। स्वास्थ्य बीमा प्रणालीमा करडौ  बराबरको रकम ठगी गरेको आरोपमा १० वर्षको संघीय जेल सजाय सुनाइएको हो ।

उनले स्वस्थ व्यक्तिहरूलाई रुमेटोइड आर्थराइटिसजस्ता दीर्घकालीन रोग लागेको झुटो निदान गरी अनावश्यक र हानिकारक उपचारहरू प्रदान गरेका थिए, जसबाट उनले मेडिकेयर र मेडिकेडजस्ता सरकारी कार्यक्रमहरूबाट ठूलो रकम असुल गरेका थिए।

डा. जामोरा-क्वेजादाले झुटो निदानका आधारमा बिरामीहरूलाई अनावश्यक केमोथेरापी र अन्य हानिकारक औषधिहरू दिई उपचार गरेका थिए, जसको कारण धेरै बिरामीहरूमा गम्भीर शारीरिक र मानसिक असर परेको थियो। उनले यो ठगी योजनाबाट प्राप्त रकमले निजी जेट, महँगो कारहरू र विलासी घरहरू खरिद गरेका थिए।

अमेरिकी न्याय विभागका अनुसार, डा. जामोरा-क्वेजादा दोषी ठहरिएपछि उनलाई १० वर्षको जेल सजाय सुनाइएको छ। साथै, उनलाई $२८.२ मिलियनभन्दा बढी रकम फिर्ता गर्न आदेश दिइएको छ।

न्यायाधीश र्यान्डी क्रेनले डा. जामोरा-क्वेजादाको कार्यलाई "घृणास्पद" भन्दै टिप्पणी गरे। उनले भने, "डा. जामोरा-क्वेजादाले आफ्नो लोभका कारण हजारौं बिरामीहरूलाई अनावश्यक पीडा र दुःख दिइरहेका थिए।"

यो घटना स्वास्थ्य सेवा क्षेत्रमा विश्वासको गम्भीर दुरुपयोगको उदाहरण हो। डा. जामोरा-क्वेजादाको ठगीले देखाएको छ कि कसरी केही व्यक्तिहरूले व्यक्तिगत लाभका लागि बिरामीहरूको स्वास्थ्य र जीवनसँग खेल्न सक्छन्। यस्तो कार्यले स्वास्थ्य सेवा प्रणालीमा सुधार र कडाइको आवश्यकता औंल्याएको छ ।