मोरङ—केराबारी गाउँपालिका–६ तामाङ टोलबाट बन्दुकसहित २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा खटिएको टोलीले राति १०ः३० बजेतिर धनबहादुर श्रेष्ठको घर खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको थियो ।

घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो ।

बरामद भएको बन्दुकसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको बन्दुक वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रयोग गर्ने गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, थप अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।