काठमाडौँ—पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालबारे नेतृ रामकुमार झाँक्रीले अभिव्यक्ति दिएपछि पार्टीले बाहिर नबोल्न सचेत गराएको छ ।
शनिबार तिखो टिप्पणी गरेपछि नेकपा एकीकृत समाजवादीमा खैलाबैला भएको थियो । आइतबार रामकुमारीको उक्त उत्तेजक अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले परिपत्र नै गरेर अध्यक्ष नेपालविरुद्ध कुनै किसिमको टिप्पणी नगर्न निर्देशन दिएका हुन् ।
रामकुमारीले बुटवलमा आयोजित युवा संघ लुम्बिनी प्रदेशको कार्यक्रममा शनिबार अध्यक्ष माधवकुमार नेपालबारे कडा र तिखो अभिव्यक्ति दिएकी थिइन् । उनले नेतृत्वको लागि अर्ली महाधिवेशन गर्नुपर्ने पनि बताइन् ।
त्यसपछि भुसालले जारी गरेको उक्त एक पृष्ठको सर्कुलरमा अध्यक्ष नेपालविरुद्ध कुनै पनि किसिमको टिप्पणी नगर्न भनिएको छ ।




















