काठमाडौं —नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानप्रति तीव्र आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले बालबालिकाको दुरुपयोग गरेर अपराध ढाक्ने प्रयास भएको भन्दै आलोचना गरेका हुन् ।

उनले लेखेका छन्, “बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ । यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ ।”

बस्नेतले बालबालिकाको नाममा यस्तो कार्य हुनु आफैँमा निन्दनीय भएको बताए ।

उनको आरोप छ कि, “अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन् । सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो ।”

उनले कानुनको शासन र बालअधिकारको संरक्षण पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरेका छन् । यसमा कुनै सम्झौता नहुने उनको भनाइ छ ।