काठमाडौँ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन्। उनले अबको आफ्नो लक्ष्य पार्टीको अध्यक्ष बन्ने रहेको स्पष्ट रूपमा बताएकी छिन्।

इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले भनिन्, "व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ।" राष्ट्र र पार्टीको हितका लागि सरकारी सेवा-सुविधा परित्याग गरेर राजनीतिमा फर्किएको जानकारी पनि उनले दिइन्।

केही साताअघि मात्र उनले सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेकी थिइन्। त्यसयता उनको राजनीतिक सक्रियता, अभिव्यक्ति र सम्भावित रणनीतिबारे चर्चाहरू चलिरहेका छन्।

उनले अन्तरवार्तामा आफ्ना प्राथमिकताहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि तथा जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीको समाधानलाई उल्लेख गरेकी छिन्।

जब उनलाई सोधियो, “यी सबै गर्न एमालेको अध्यक्ष बन्नुपर्ने हो?” उनले स्पष्ट रूपमा भनिन्, “हो।”

केपी शर्मा ओलीबारे टिप्पणी गर्दै भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसकेका ओली अब दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। "मैले चिनेको केपी ओली त्यस्तो होइन," उनको भनाइ थियो।

उनले पार्टीभित्र अतीतमा देखिएको विभाजन र गुटबन्दीको यथार्थलाई स्वीकार गर्दै, अब ती समस्याको समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिन्।