काठमाडौँ — नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीभित्र न्याय र सत्यको पक्षमा संघर्ष जारी रहने बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्किन नदिने नेकपा एमालेको केन्द्रीय समिति बैठकको निर्णयपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
“न्याय र सत्यको लडाइँ जारी छ। जारी रहनेछ,” उनले लेखेका छन्।
थापाले विगतका घटनाहरू स्मरण गर्दै पार्टीभित्र भएका अन्याय र शक्ति प्रयोगका विरुद्ध आफ्नो भूमिका उल्लेख गरेका छन्। उनले लेखेका छन्, “बामदेब, सिपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधवलाई जोगाउन लडियो। तर माधवले पार्टी शक्तिको दुरुपयोग गरी केपी, शंकर, प्रदीप, गुरू बराल, देवराज घिमिरेहरूलाई अपमान गर्दा हामी माधवको विपक्षमा उभियौँ।”
उनले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा शून्यबाट सुरू गरेर शिखरसम्म पुर्याउने अभियानमा आफ्नो निरन्तर साथ रहेको दाबी पनि गरे। “म कमरेड केपीको सातौँ, आठौँ र संसदीय दलको नेता चयनका लागि प्रतिनिधि थिएँ,” उनले उल्लेख गरे।
राजा वीरेन्द्रको पालासम्मका केही प्रसङ्गसमेत स्मरण गर्दै उनले विगतमा दरबार, न्यायपालिका र सञ्चार माध्यमसँग पनि आफ्नो विचारको पक्षमा संघर्ष गरेको बताए। “राजा वीरेन्द्र जीवितै हुँदा म उहाँभन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तर्वार्ता प्रकाशन भएपछि दरबारसमक्ष लेख पुगेको थियो,” उनले भने, “प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा लेखमार्फत प्रतिवाद गरियो, मानहानीको मुद्दा खेप्नु परेन।”
थापाले आफू सधैं सत्य र न्यायको पक्षमा उभिरहने प्रतिबद्धता जनाएका छन्। “म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ,” उनले लेखेका छन्, “षड्यन्त्र र दाउपेचलाई म घृणा गर्छु। सही कुरा नबुझी समर्थन वा विरोध नगर्न सबैमा आग्रह गर्छु।”




















