काठमाडौँ — नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि पार्टीभित्रैबाट असहमतिको स्वर उठ्न थालेको छ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए। तर पार्टी उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापा ले उक्त निर्णयप्रति फरक मत राखेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ती नेताहरूले बैठकमै उठेर औपचारिक रूपमा असहमति जनाएका छन्। “सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गर्नुभएको छ,” गौतमले जानकारी दिए, “उहाँहरूले नोट अफ डिसेन्ट लेख्ने बताउनुभएको छ।”

सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष ओलीले भण्डारीको राजनीतिमा संलग्नता असम्भव हुने भन्दै सदस्यता नवीकरण नगर्ने घोषणा गरेका थिए।

यसअघि, पूर्वराष्ट्रपति भण्डारीले पत्रकारहरूसँग बोल्दै आफू राजनीतिमा फर्किसकेको र अब पछि नहट्ने स्पष्ट संकेत दिएकी थिइन्। तर ओलीले पार्टी निर्णयमार्फत त्यो मार्ग बन्द गरिदिएका छन्।

अब एमालेभित्र भण्डारीको भूमिकाबारे बहस र ध्रुवीकरण कसरी अघि बढ्छ भन्ने विषय राजनीतिक चासोको केन्द्रमा छ।