काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकमा देशका समस्या समाधानको सन्दर्भमा आत्ममूल्यांकनको आवश्यकता औंल्याउँदै एक शायरी प्रस्तुत गरेका छन्।
बुधबार राष्ट्रिय सभामा "नेपालको स्तरोन्नति सम्बन्धी छलफल" मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले प्रसिद्ध उर्दू शायर मिर्जा गालिबको शैलीमा शायरी सुनाउँदै सरकार, संस्थाहरू र नेताहरूले आत्मविश्लेषण गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले भने,
‘केही अगाडि माननीय गृहमन्त्री रमेश लेखकजीले प्रतिनिधिसभामा गालिबको शायरी सुनाउनु भएको थियो –
एक ही भूल मैं जीवन भर करता रहा, धूल लगी थी चेहरे पे, पर मैं आईने को पोछता रहा।’
यसको अर्थ — एउटै गल्ती म जीवनभर गरिरहेँ; धुलो अनुहारमा लागेको थियो, तर म ऐना पुछिरहें।’
शायरीमार्फत गहिरो सन्देश
प्रधानमन्त्री ओलीले उक्त शायरीमार्फत देशका समस्या अरूको दोष दिने प्रवृत्तिभन्दा आफ्नै गल्ती पहिचान गर्नु जरुरी रहेको बताए।
उनले थपे, ‘अनुहारमा धुलो लाग्दा ऐना पुछेर हुँदैन। हामीले आफ्ना गल्ती हटाउनु पर्छ। आफ्नो अनुहार सफा राख्नुपर्छ। ऐनालाई मात्र सफा गर्दा केही हुँदैन।’
उनको भनाइ अनुसार, देशको समग्र सुधार, आर्थिक रुपान्तरण र अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीयता हासिल गर्नका लागि आत्मआलोचना र सुधारको संस्कृति अनिवार्य छ। उनले नकारात्मक दृष्टिकोण र आत्मश्लाघाबाट माथि उठेर यथार्थपरक सोच अपनाउन सबैलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले चुनौतीपूर्ण विश्व परिवेशमा नेपालले राष्ट्रिय एकता, जिम्मेवारी र पारदर्शिता कायम राख्दै अघि बढ्नुपर्ने बताए। उनले भनाइको अन्त्यमा भने, ‘देश चलाउने जिम्मेवारीमा रहेका हामी सबैले आत्मचिन्तन गर्नुपर्छ, समाधान हाम्रो भित्रै छ।’




















