झापा – झापाको दमक नगरपालिकाबाट अवलोकन भ्रमणमा गएको टोली चितवनबाट फर्कने क्रममा उदयपुरको कटारीनजिक आज दिउँसो गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परि दमक नगरपालिका वडा नं. ३ निवासी र कानुन अधिकृतका रूपमा कार्यरत ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ। उनलाई प्रादेशिक अस्पताल कटारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


दुर्घटनामा कर्मचारी र जनप्रतिनिधि गरी ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा दमक–१० का वडाध्यक्ष ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी रहेका छन्। उनको बायाँ गाला र बायाँ हात-खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको बताइएको छ। त्यसैगरी, दमक–१ का ४५ वर्षीय अमिन ज्ञानेन्द्र गौतम टाउको र बायाँ गालामा चोटका कारण मध्यम अवस्थामै रहेका छन्। दमक–६ का वडा सदस्य तथा न्यायिक समिति सदस्य ५४ वर्षीय कमल श्रेष्ठको टाउको र बायाँ पाखुरामा सामान्य चोट लागेको छ । दमक–२ का नायव सुब्बा ३८ वर्षीय नवीन खतिवडा दायाँ हातमा चोटसहित सामान्य अवस्थामा छन् भने गौरादह–१ निवासी ५४ वर्षीय अधिकृत छैठौं (प्रशासन) भुवन दाहालको टाउको र दायाँ हातमा सामान्य चोटसहित सामान्य अवस्थामै रहेका छन्। दमक–९ का ३८ वर्षीय चालक देवेन्द्र तामाङ दायाँ हात र बायाँ घुँडामा चोटसहित सामान्य अवस्थामै रहेको जनाइएको छ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरूलाई तत्काल कटारीको प्रादेशिक अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले जानकारी दिए ।

दमक वडा नं. १० का अध्यक्ष भण्डारीको अवस्था केही जटिल भए पनि अन्य सबै घाइतेको अवस्था खतरामुक्त रहेको जिल्ला अधिकारी लुईंटेलले बताए ।
मे १ च ३०४० नम्बरको स्कोर्पियो गाडी मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ स्थित सोमबारेमा अनियन्त्रित भई सडक साइडमा रहेको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज विजय राईले जानकारी दिए । दुर्घटना दिउँसो ४:१० बजे भएको बताइएको छ।
भ्रमण टोली गत वैशाख १२ गते स्थानीय तहको न्याय सम्पादनसम्बन्धी अवलोकन भ्रमणका लागि गएका थिए।