काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्तामा मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको हो।

बैठकमा ओली र देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

प्रधानमन्त्री ओलीले आफ्नै दलका केही विवादास्पद मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। स्रोतका अनुसार रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउने सम्भावना छ। अधिकारी हालै घुस प्रकरणमा मुछिएका छन् भने भण्डारीको कार्यसम्पादनप्रति ओली असन्तुष्ट देखिएका छन्।

शुरुआती चरणमा आलोचना खेपेका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको पछिल्लो काम सन्तोषजनक देखिएकाले उनलाई भने कायम राख्ने तयारी छ। एमालेभित्र मन्त्रीका आकांक्षीमध्ये झापा–४ का सांसद एलपी सावाँ लिम्बू, रूपन्देही–१ का छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चा गरिएको छ।

उता कांग्रेसले आफ्ना मन्त्रीहरू अहिले हटाउन नचाहेको देखिएको छ। स्रोतका अनुसार देउवाले दुई वर्षका लागि मन्त्री पठाएकाले समय पूरा नहुँदै फेर्न नचाहेको बताइएको छ। तर कांग्रेसका प्रकाशमान सिंह, आरजु राणा, रमेश लेखक र बद्री पाण्डे विवादमा मुछिएका छन्।

कांग्रेसका कतिपय मन्त्रीलाई बनाउने बेलामा एक वर्षका लागि मात्रै भनेर सहमति गरिएको दाबी प्रधानमन्त्री निकट स्रोतको छ। कार्यसम्पादन सन्तोषजनक नदेखिएका र आलोचनामा रहेका मन्त्रीहरूलाई बिदा दिने सोच प्रधानमन्त्रीको रहेको स्रोत बताउँछ।

हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन्। ओली नेतृत्वको वर्तमान सरकार २०८१ असार ३० गते गठन भएको हो।