काठमाडौं—नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर लाग्ने नेता तथा कार्यकर्तामाथि कारबाही प्रक्रिया तीव्र बनाएको छ। पछिल्लो समय एमाले निकट खेलकुद महासंघका स्थायी कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलामाथि कारबाहीको तयारी गरिएको छ।
पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको छ। खेलकुद महासंघले उक्त विषयमा केन्द्रीय अनुशासन आयोगमा कारबाहीको सिफारिस समेत गरिसकेको छ।
यसअघि भण्डारीको पक्षमा उभिएको भन्दै एमालेले राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरिसकेको छ। यस्तै, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सचिवालय, पोलिट्ब्युरो र केन्द्रीय समितिबाट पुनः पार्टीमा फर्कन नदिने निर्णय एमालेले गरिसकेको छ।
पति मदन भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा १४ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेभित्रको असन्तुष्टि सतहमा आएको हो।




















