काठमाडौं—विवादास्पद व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएपछि स्वागत गर्न पुगेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा आलोचित बनेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनको अभियोगमा पक्राउ परेका प्रसाईं उच्च अदालत पाटनको  आदेशमा धरौटीमा रिहा भएका हुन् ।

सोमबार डिल्लीबजार कारागारबाट निस्किँदै गर्दा सांसद शर्मा उनलाई स्वागत गर्न पुगेका थिए। शर्मा कांग्रेस नेता शेखर कोइरालाका निकट मानिन्छन्। शर्मा प्रसाईंलाई कारागारमा स्वागत गर्न पुगेपछि कोइरालामाथि समेत प्रश्न उठेको छ। सामाजिक सञ्जालमा “कोइरालाको सहमतिमा शर्मा प्रसाईं भेट्न गएका हुन्” भन्ने टिप्पणी भइरहेका छन्।

तीनकुने प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनःसिंहासनमा ल्याउने नारा लगाइएको थियो। प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। त्यसपछि फरार रहेका प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको हो।

कांग्रेस नेतृत्व र कार्यकर्ताहरूले भने सांसद शर्माको यो कदमलाई मन पराएका छैनन्। “कांग्रेसको नीति राजसंस्था फिर्ता ल्याउने होइन, तर सांसद शर्मा प्रसाईं जस्तो राजावादीको स्वागतमा जानु अनुचित हो,” कांग्रेसका एक नेताले भने।

कांग्रेसभित्रै अब शर्मा राजावादीहरूतिर उन्मुख भइरहेका छन् कि भन्ने आशंका थपिएको छ। पार्टीभित्र शर्मा र कोइरालाको भूमिकालाई लिएर आन्तरिक असन्तोष चुलिएको छ।