भैरहवा — रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहौल चर्किँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि रिक्त भएको यस क्षेत्रमा दलहरू आफ्नो उम्मेदवारलाई जिताउने दौडमा छन्।
उपनिर्वाचनमा रास्वपाबाट उम्मेदार आकांक्षीहरूको सूचीमा रहेका एक पात्र हुन् पार्थिवेन्द्र उपाध्याय । सिद्धार्थनगर नगरपालिका वडा नं ७ भैरहवा निवासी उनी रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमध्ये दोस्रो नम्बरमा छन् । उनी राजनीतिक रूपमा एमालेको गहिरो पृष्ठभूमि बोकेका व्यक्ति हुन्।
पार्थिवेन्द्रका बुवा धनपति उपाध्याय एमालेबाट सांसद बनेका थिए। बुवाको निधनपछि आमा पुष्पाञ्जली उपाध्याय पनि एमालेमै सक्रिय भइन्। पार्थिवेन्द्रकी श्रीमती उमा अधिकारी अहिले सिद्धार्थनगर नगरपालिकाको उपमेयरका रूपमा एमालेको टिकटमा निर्वाचित भएकी छिन्। पारिवारिक पृष्ठभूमिमात्र होइन, पार्थिवेन्द्र स्वयं माओवादी द्वन्द्वका बेला अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता थिए।
तर, अहिले उनले एमालेको बाटो त्यागेर वैकल्पिक राजनीति भन्दै रास्वपामा प्रवेश गरेका छन्। यसअघि २०७४ सालमा पनि उनले वैकल्पिक शक्ति भन्दै विवेकशील पार्टीबाट यिनै क्षेत्रमा सांसदका लागि उम्मेदवारी दिएका थिए। विवेकशील कमजोर भएपछि अब उनले अर्को वैकल्पिक ठेगाना रास्वपामा रोजेका हुन्।
रास्वपाको नीतिअनुसार शिक्षक, प्राध्यापक वा सरकारी सेवक सदस्य बन्न नपाउने भएपछि उनले रूपन्देही क्याम्पस प्रमुखको पद समेत छोडेका छन्। ‘अब म एउटा नयाँ बाटोतर्फ लाग्दैछु, कता पुगिन्छ, समयले बताउनेछ,’ उनले फेसबुकमा लेखेका छन्।
यो सातामा रास्वपाले उम्मेदवार छनोटका लागि आन्तरिक नाम दर्ता खुला गर्दा ९ जनाले आवेदन दिएका छन्। तीमध्ये पार्थिवेन्द्रको नाम भैरहवा वरिपरि बढी चर्चा पाइरहेको छ। आफ्नो प्राध्यापन करियर नै दाउमा राखेर राजनीतिमा होमिएका उनी उम्मेदवार बन्ने हो भने यस क्षेत्रको चुनावी समीकरणमा नयाँ मोड आउन सक्ने विश्लेषण स्थानीय राजनीतिक वृत्तमा सुरु भइसकेको छ।
निर्वाचन आयोगले रुपन्देही–३ मा उपनिर्वाचन कार्तिक १७ गतेका लागि तोकेको छ। त्यसअघि उम्मेदवारको अन्तिम टुंगो लाग्ने र प्रचार–प्रसारका गतिविधिले यहाँको राजनीतिक तापक्रम अझै चुलिने देखिन्छ।
तर, सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उपाध्यायलाई एमालेको ‘जासुस’का रूपमा रास्वपामा प्रवेश गराइएको दाबी गरेका छन्। केहीले भने परिवारमै राजनीतिक एकता कायम गर्न नसक्ने व्यक्तिले देश मिलाउने गफ नदिन सुझाव दिएका छन्। यस्तै, धेरैजसोले उनलाई अवसरवादी समेत भनेका छन्।




















