रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माध्यमिक विद्यालयका ७ विद्यार्थीलाई अरिङ्गालले टोक्दा ७ वर्षीय मोहन परियारको उपचारको क्रममा मृत्यु भएको छ।
बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका बालबालिकाहरूलाई घर नजिकैको तिला जंगलमा अरिङ्गालले टोकेको थियो।
घाइते बालबालिकाहरूको उपचार अहिले जारी छ। रोल्पा प्रहरीले घाइतेहरूलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएको छ।
विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार, घाइते विद्यार्थीहरूलाई पहिले तिलास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार दिइएको र त्यसपछि सदरमुकामस्थित लिबाङ जिल्ला अस्पताल रेउघा लगिएको थियो।
घाइतेहरूमा कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, केजी का कमल परियार र मोहनका भाइ आशिष परियार रहेका छन्। कक्षा ७ का आयुष परियारलाई भने घर फर्काइएको छ।



















