झापा—अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका ३४ वर्षीय भुटानी शरणार्थी सञ्जिल राई झापाको दमक नगरपालिका–३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एन्ड लजमा मृत अवस्थामा फेला परेका छन्।
साउन ३१ गते दिउँसो करिब १२ः३० बजे होटलको कोठा नम्बर–२०१ भित्र अचेत अवस्थामा भेटिएका राईलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। तर, दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दमक प्रहरीले कोठाभित्र ‘गुग्ली’ नामक विषादीको खाली प्याकेट फेला पारेको र प्रारम्भिक अनुमानमा उनले विष सेवन गरेको हुनसक्ने जनाएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिएका छन्।
राई साउन २५ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए। उनी बेलडाँगी शरणार्थी शिविर निवासी मनिला चाम्लिङ राईलाई भेट्न आएका थिए। आइतबार बिहान ढोका नखोलेपछि सञ्चालकले प्रहरीको सहयोगमा ढोका खोलेका थिए। ढोका फोड्दा उनी घोप्टो अवस्थामा अचेत भेटिएका थिए।
सञ्जिलको जीवन कथा शरणार्थी पीडासँग गाँसिएको थियो। सन् १९९२ मा भुटानले परिवारलाई निष्कासन गरेपछि उनी बाल्यकालमै झापास्थित शिविरमा आएका थिए। पछि अमेरिकामा पुनर्वास भए पनि केही समयअघि डिपोर्ट भई नेपाल फर्किएका थिए। तर, किन र कहिले डिपोर्ट गरिएको भन्नेबारे परिवारलाई स्पष्ट जानकारी छैन।
काका प्रकाश राईले भने, “डिपोर्ट किन भयो भन्ने बुझ्न पाएका छैनौँ। सञ्जिलको मृत्युले हामी गहिरो पीडामा छौँ।”
परिवारका सदस्यहरू हाल अमेरिकाको ओहायोमा बस्दै आएका थिए। मृत्युको खबर पाएलगत्तै नेपाल फर्किएका उनीहरूले भदौ ६ गते अन्तिम संस्कार सम्पन्न गरेका छन्। अहिले उनका आमा–बुबा र बहिनी बेलडाँगी शिविरमै काकाको टहरोमा बसेका छन्।
“उनी नेपाल आएको थाहा नै पाएका थिएनौँ, घटना घटेपछि मात्रै खबर पाइयो,” सञ्जिलकी फुपू दिलमाया राईले भनिन्।



















