जनकपुरधाम — मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिष सिंह देश बाहिर गएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक योजना तथा पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई दिइएको छ।

मुख्यमन्त्री सिंहले जारी गरेको सूचनामा आफ्नो अनुपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पूर्ण कार्यसम्पादनका लागि यादवलाई जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ।

मधेश प्रदेश सरकार कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहकको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरधामले जनाएको छ।