काठमाडौं—नवयुवा समूह अर्थात् जेनजी पुस्ताले आज भर्चुअल बैठक गर्दै देशको नेतृत्वका लागि आफ्नो प्रतिनिधि कसलाई बनाउने भन्ने विषयमा व्यापक छलफल गरिरहेको छ। उक्त बैठकमा हजारौँ युवाको सहभागिता रहेको बताइन्छ।
बैठकमा सहभागी युवाहरुले विभिन्न विकल्पमा बहस गरिरहेका छन्। केही प्रतिनिधिहरुले नेपाली सेनाको समन्वयमा राष्ट्रपतिसँग वार्ता गर्न जाने प्रतिनिधि छनोट गर्ने विषयलाई प्राथमिकता दिएका छन्।
छलफलमा पूर्व प्रधानन्यायाधीश शुशिला कार्की, राजनीतिशास्त्री सागर ढकाललगायतका नामहरू चर्चामा आएका छन्। साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम पनि केही युवाहरुले प्रस्ताव गरेका छन्।
तर, केही सहभागी युवाहरुले दुर्गा प्रसाईँ र रास्वपालाई आन्दोलनको स्टेकहोल्डर मान्न नहुने धारणा राखेका छन्।
“दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो स्टेकहोल्डर होइनन्,” एक सहभागीले स्पष्ट पारे।
यसैबीच, सामाजिक सञ्जालमा केही जेनजी प्रतिनिधिहरुले नेपाली सेनाले दुर्गा प्रसाईँ र रास्वपालाई समेत छलफलमा समावेश गर्न आग्रह गरेको दाबी गरेका छन्। यद्यपि, यसबारे नेपाली सेनाले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
जेनजी समूहभित्र आगामी नेतृत्वको विषयमा मतमतान्तर देखिएको छ। धेरैजसो युवाहरुले देशलाई आर्थिक मन्दीबाट छिटो निकाल्न सक्ने र द्रुत गतिमा विकासमा अघि बढाउन सक्ने व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउनुपर्ने धारणा राखेका छन्।




















