काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई जबरजस्ती कारागारबाट निकालिएको दाबी गर्दै फेरि प्रहरी कस्टडीमा राख्न आग्रह गरेका छन्।
लामिछानेले मंगलबार साँझ फेसबुक लाइभमार्फत भने, “म आफैंले चाहेर निस्किएको होइन। सुरक्षा दिन सकिँदैन भनेर जबरजस्ती बाहिर निकालिएको हो। मलाई जस्तो पत्र दिइयो, त्यही सार्वजनिक गरेको छु।”
उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसँग कुरा गर्दै आफूलाई पुनः कस्टडीमा राख्न वा कारागारमा पठाउन आग्रह गरेका थिए। “उहाँहरुले आफैं सुरक्षित बस्नुस, परेको बेला सम्पर्क गर्छौं भन्नुभयो,” उनले भने।
लामिछानेले अझै पनि झूटो मुद्दामा फसिरहेको दाबी गर्दै अनावश्यक विवाद र बदनामी नगर्न सबैसँग आग्रह गरे। “बाटोमा आगो लिएर बसेको भिड छ। अब भन्नुस, मैले बाँच्न पाउने कि नपाउने?” उनले प्रश्न गरे।




















