काठमाडौं—अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले सामाजिक सञ्जालमार्फत दिएको राजीनामा फिर्ता लिएका छन्। उनले आफूलाई केही दिनअघि हातहतियारसहितका व्यक्तिहरूले घरमै आक्रमण गरेको र त्यसकै दबाबमा राजीनामा घोषणा गर्न बाध्य भएको दाबी गरेका छन्।

कडरियाले आज पुनः सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “जेन–जी पुस्ताको नाममा मेरो घरमा हातहतियारसहित आक्रमण गर्ने घटना पूर्ण सत्य हो। उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए। शारीरिक हातपात भयो र जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो। सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जीवितै रहने थिइन।”

उनले आफूलाई बचाउने एक चिनिएका व्यक्तिप्रति जीवनभर कृतज्ञ रहने उल्लेख गर्दै एमाले छोड्ने कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्। कडरियाले थपे, “आजको अवस्थामा पनि म एमालेमै रहनेछु। यो पार्टीले मात्र देशलाई जोगाउन सक्छ भन्ने मेरो विश्वास हो। कुनै पनि आन्दोलनले शहीदरबार वा अदालत जलाउन सक्दैन। विद्यार्थी मार्दा हामीले स्वीकार्य गल्ती भएको थियौं, तर त्यसपछि अराजकता अझै बढेको छ। देश संविधानअनुसार नै चल्नुपर्छ।”

कडरियाले आफ्नै कमजोरी स्वीकार गर्दै एमाले कार्यकर्तासँग माफी मागेका छन्। “देशका वरिष्ठ नेताहरूले पनि यो परिस्थितिको सामना गर्न नसकेको बेला मबाट कमजोरी भएको हो। यसबाट एमालेजनमा परेको चोटप्रति क्षमा प्रार्थी छु। मानिसले गल्तीबाट नै सिक्ने हो,” उनले लेखेका छन्। कडरियाले भने एकताभावका साथ संयमित हुन सबैलाई आग्रह गर्दै देश र संविधान जोगाउन सबै पक्ष एक हुन आवश्यक रहेको बताएका छन्।

यद्यपि, उनले  राजीनामा फिर्ता लिएसंगै  सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उनलाई “कायर” भन्दै चर्को आलोचना गरेका छन्। केहीले 'नैतिकता छ भने अब त्यो पदमा बस्ने आट नगर्दा हुन्छ" अब कसरी अध्यक्ष मान्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।