काठमाडौँ — हालैका आन्दोलनमा भएको जनधनको क्षति र राष्ट्रिय सम्पत्तिमा पुगेको विनाशप्रति राष्ट्रिय युवा सङ्घ, नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ।
सङ्घले शुक्रबार जारी विज्ञप्तिमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवा पुस्ताको मागलाई वैध ठहर गर्दै शान्तिपूर्ण आन्दोलनको आवश्यकतामा जोड दिएको छ। तर आन्दोलनकै नाममा देशका प्रमुख सरकारी संरचना – प्रधानमन्त्री निवास, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय विमानस्थलजस्ता संवेदनशील स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटलाई घोर निन्दा गरेको छ।
“राष्ट्रलाई बलियो बनाउन गरिएको आन्दोलन हिंसा र विनाशमा परिणत हुनु दुःखद छ,” विज्ञप्तिमा भनिएको छ, “सद्भाव, सजगता र राष्ट्रप्रेमका साथ अघि बढ्न सबैलाई अनुरोध गर्दछौँ।”
सङ्घले सरकारी सम्पत्तिमा भएको क्षतिको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, भावनात्मक उक्साहटमा नफसी शान्तिपूर्ण र जिम्मेवार तरिकाले आन्दोलनमा सहभागी हुन युवाहरुलाई आह्वान गरेको छ।






















