काठमाडौँ —नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अपरिहार्य रहेको बताएका छन्। उनले मत पाउनु र जनविश्वास पाउनु फरक कुरा भएकाले आत्मसमीक्षा गरेर पार्टीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

थापाले भने, “नागरिकको विश्वास किन टुट्यो भन्ने कुरा गम्भीर समीक्षा गर्नुपर्छ। खासगरी नयाँ पुस्ताले हामीलाई नचाहनुको कारण पत्ता लगाएर समाधान गर्नुपर्छ।” उनले कांग्रेसको अनुहारमा लागेको दाग ऐना पुछेर मेटिन नसक्ने बताउँदै देशसँग माफी मागेर मात्र विश्वास पुनःस्थापना गर्न सकिने धारणा राखे।

२३–२४ भदौमा भएका अमानवीय र क्रूर घटनाको छानबिन माग गर्दै उनले स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने तर नियतवश भएको हिंसालाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए। पुनःनिर्माणको अग्रसरता कांग्रेसले लिनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति, राजनीतिक दल र आन्दोलनकारीसँग संवाद भइरहेको जनाउँदै थापाले जेन जेडले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन कांग्रेसले पहल गरिरहेको जानकारी दिए। उनले संविधानलाई ट्र्याकमै राखेर सरकार गठन गर्ने पक्षमा जोड दिँदै आज साँझसम्म सरकार बन्ने विश्वास व्यक्त गरे।