काठमाडौँ — नेकपा एमालेभित्र पाका पुस्ताका नेताहरूलाई बिदाइ गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने विषयमा बहस सुरु भएको छ।

भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको आन्दोलन भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भड्किदा हिंसामा परिणत भएको थियो, जसले जनधनको क्षति मात्र नभई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुग्यो। त्यसपछि पार्टीका युवा नेताहरूले पाका पुस्ताबाट पार नलाग्ने भन्दै विकल्प खोजी गर्ने आन्तरिक छलफल सुरु गरेका छन्।

यसअघि धेरै नेता–कार्यकर्ताहरू पाका पुस्तालाई बिदा गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा भए पनि खुला रूपमा बोल्न सक्ने अवस्था थिएन। भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाएर पाका पुस्तालाई नै नेतृत्वमा ल्याउने बाटो खोल्यो। तर त्यसको भोलिपल्ट सुरु भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढल्न पुग्दा व्यवस्थाप्रति पनि गम्भीर प्रश्न उठ्यो।

यसैक्रममा, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वस्थायी कमिटी सदस्य हिक्मतजंग खड्काले सामाजिक सञ्जालमा पाका पुस्ताका नेताहरूको विकल्प खोज्नुपर्ने बहस सुरु गरेका छन्। उनले हाल पार्टीमा उपमहासचिवभन्दा माथिल्लो तहका नेताहरूलाई सल्लाहकार बनाउन सकिने तर कार्यकारी जिम्मेवारीबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

त्यसैगरी खड्काले नयाँ नेतृत्वमा आयोजक कमिटी घोषणा गर्दै ४० वर्ष मुनिका ५० प्रतिशत युवालाई कमिटीमा स्थान दिने गरी पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्।

अर्कोतर्फ, उनले पार्टीबाट सांसद, मन्त्री र लाभका पदमा रहेका नेताहरूको चल-अचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, पार्टीको केन्द्रदेखि तल्लो तहसम्म “एक कमिटी–एक निर्माण” योजना लागू गर्नुपर्ने, जेनजीले उठाएका जायज मुद्दामा पार्टीले समर्थन जनाउँदै पुनर्निर्माण गर्नुपर्ने, र भ्रष्टाचारी पहिचान गरी पार्टीबाटै निकाल्नुपर्ने सात बुँदे प्रस्तावसमेत अघि सारेका छन्।