सुर्खेत — जेन–जी आन्दोलनका नाममा भदौ २४ गते भएको आक्रमणमा आफ्नो घर जलाइएपछि वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले तीव्र आपत्ति प्रकट गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत १२ वटा विकास गतिविधिको सूची सार्वजनिक गर्दै, “के यी नै मेरा अपराध हुन्?” भन्दै प्रश्न गरेकी छन्।
वडा नं. ८ मा रहेको आफ्नो पुख्र्यौली घर र श्रीमान्को २५ वर्षको कमाइको उपज जलेर खरानी भएको भन्दै ढकालले यो घटनाले आफूलाई गहिरो पीडा दिएको बताइन्। “मैले ५ वर्ष उपमेयर र ३ वर्ष मेयर भएर काम गर्दा कतै अनियमितता गरेको प्रमाण छ भने पेश गर्नुस्,” उनले चुनौती दिइन्।
नेकपा (एमाले) की केन्द्रीय सदस्यसमेत रहेकी ढकालले आफू एमालेको कार्यकर्ता भएकै कारण लक्षित आक्रमण भएको आरोप लगाइन्। उनले सामाजिक सञ्जालमा वीरेन्द्रनगरको विकासका लागि ८ वर्षमा सुरु गरेका मुख्य कामहरूको सूची सार्वजनिक गर्दै, “यी कारणले मेरो घर जलाइयो?” भन्दै आपत्ति जनाइन्।
ढकालका अनुसार वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाउँदो सहरको रूपमा विकास गर्न उनले पार्किङ व्यवस्थापन, १२ लाख रुपैयाँभन्दा माथिका योजनामा इ–बिडिङ, सार्वजनिक शिक्षा सुधार, बुलबुले ताल र ऐतिहासिक घण्टाघर निर्माण, भेरी लिफ्टिङ आयोजना सुरु, जनसंख्या भन्दा तीन गुणा बढी जनतालाई स्वास्थ्य सेवा र करिब ६ लाख जनसंख्यालाई आधार सेवा प्रदान गर्नेजस्ता काम गरिएकै कारण आफू लक्षित आक्रमणमा परेको हुन् भन्ने आशंका छ।
“सार्वजनिक जिम्मेवारीमा रहँदा धेरै मानसिक पीडा भोगेकी छु। कोरोनाकालमा कार्यबाहक मेयरका रूपमा जीवन नै जोखिममा राखेर व्यवस्थापनको काम गरेँ। आज पनि नगर र नगरवासीको हितमा काम गरिरहेकी छु। तर के कसैका व्यक्तिगत चाहना र व्यक्तिगत लाभका काम नगरेकै कारण मैले यो अन्याय भोग्नु परेको हो?” उनले प्रश्न गरिन्।




















