काठमाडौँ — सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रीपरिषद् विस्तार गरी नियुक्त गरेका तीन मन्त्रीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। शपथ लिने तीन मन्त्रीहरूमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व अर्थसचिव शेखर खनाल रहेका छन्।

गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी अर्याललाई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी घिसिङलाई र अर्थ मन्त्रालयको जिम्मेवारी खनाललाई दिने निर्णय प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन्।

जेन-जी आन्दोलनको दबाबमा गठन भएको अन्तरिम सरकारले मन्त्रीपरिषद् विस्तारसँगै कामलाई तीव्रता दिने तयारी गरेको छ। यसअघि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीयभन्दा नबढाउने संकेत दिएकी छिन्।

शपथ ग्रहण पछि मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको कार्यभार सम्हाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ।