काठमाडौं — नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूलाई व्यक्तिगत काम लिएर बिहान–साँझ आफ्नो घरमा नजान निर्देशन दिएका छन् । उनले सरकारी कामका लागि आफू सधैं तयार रहेको भन्दै निजी स्वार्थका लागि घर धाउने चलन तत्काल रोक्न आग्रह गरेका छन् ।

खनालले जेन–जी आन्दोलनका कारण सिंहदरबारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै छिटो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गर्न आदेश दिएका छन् । ‘हामी खरानीबाट उठ्यौँ भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिऔँ,’ उनले भने ।

उनले निजी सवारीसाधनको क्षति बीमा कम्पनीबाट भरपाई हुने भए पनि सार्वजनिक सम्पत्तिको क्षतिको स्रोत जुटाउनुपर्ने बताएका छन् । यो कामचलाउ सरकार भएकाले नयाँ सवारी साधन खरिद नगर्न पनि निर्देशन दिएका छन् ।