काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशभर क्षतिग्रस्त पार्टी कार्यालयहरूको पुनर्निर्माण थाल्न निर्देशन दिएका छन्। सोमबार (भदौ ३०) जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उनले कार्यकर्तालाई सरकारी संयन्त्रसँग समन्वय गरी सार्वजनिक संरचनाको निर्माणमा पनि योगदान गर्न आग्रह गरे।

आउँदो असोज ३ गते संविधान दिवसलाई “खरानीकै थुप्रोबाट मनाउने” घोषणासहित उनले सबै जिल्लामा कार्यक्रम गर्ने र काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमै विशेष कार्यक्रम हुने बताए।

उनले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने बताएका छन्। साथै, अन्तरिम सरकारको मुख्य काम सुरक्षाको वातावरण बनाउन र समयमै निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिँदै उनले सबै लोकतान्त्रिक पार्टीहरू जनताबाट प्रत्यक्ष अभिमत लिन तयार भएको विश्वास व्यक्त गरे।