विराटचोक — मोरङको सुन्दरहरैंचामा थारु, खवास, दनुवार र राजधामी समुदायका संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जितीया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक विदा नदिएको निर्णयको विरोध गरेका छन्।
थारु कल्याणकारिणी सभा नगर कार्य समिति, खवास समाज परिषद्, दनुवार जागरण सभा, राजधामी उत्थान मञ्ज तथा थारु महिला सभा नगर कार्य समितिले विगत वर्षहरूमा निरन्तर आयोजना हुँदै आएको जितीया सांस्कृतिक कार्यक्रम यस वर्ष देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएको जानकारी दिएका छन्।
तर, जितीया पर्व केवल थारु समुदायको मात्र नभई सुन्दरहरैंचा नगरको विविध सांस्कृतिक परिचयसँग जोडिएको महत्त्वपूर्ण चाड भएकोले, यस वर्ष मात्र सीमित समुदायलाई विदा दिने निर्णयप्रति ती संघसंस्थाहरूले घोर भर्त्सना व्यक्त गरेका छन्।
संयुक्त विज्ञप्तिमा नगरपालिकालाई तत्काल निर्णय सच्याएर सम्पूर्ण नगर क्षेत्रमा सार्वजनिक विदा दिने व्यवस्था गर्न आग्रह गरिएको थारु महिला सभा सुन्दरहरैंचाकी नगरसचिव रुकमिता चौधरीले बताइन ।
विज्ञप्ति बुझाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर अध्यक्ष सुमन यख्खा राई, ग्रामथान सेवा समिति नगर अध्यक्ष भगतलाल चौधरी, थारु संस्कृति संग्रहालय समिति उपाध्यक्ष दीपनारायण चौधरी र समाजसेवी बलिराम चौधरीलगायतको उपस्थिती रहेको थियो।
संयुक्त विज्ञप्तिमा हालैको जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा निधन भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको र सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उल्लेख छ।




















