ढाका—विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन अन्त्य हुँदै उनी निर्वासनमा भाग्दा बङ्गलादेशमा राजनीतिक संकट बढेको छ। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा निर्वाचन गर्ने वाचा गरेको छ।
तर १७ करोड जनसङ्ख्या भएको मुलुकमा राजनीतिक विभाजन र हिंसा बढ्दै गएपछि शङ्का बढेको छ। हसिनाको अवामी लिग प्रतिबन्धित भएपछि प्रमुख राजनीतिक खेलाडी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी), इस्लामवादी जमात–ए–इस्लामी र विद्यार्थी नेताहरूले स्थापना गरेको राष्ट्रिय नागरिक पार्टी (एनसिपी) मुख्य शक्ति बनेका छन्।
अन्तरिम प्रधानमन्त्री युनुसले चुनावपछि पदत्याग गर्ने घोषणा गरिसकेका छन् र उनले “चुनावको विकल्प छैन” भनेर जोड दिएका छन्। तर उनका दैनिक राजनीतिबाट दूरी, सेना समर्थनका प्रश्नहरू र दलबीचको विवादले अनिश्चितता बढाएका छन्।
मुख्य विवाद ‘जुलाई नेसनल चार्टर’ लाई लिएर छ। यसले प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा र राष्ट्रपतिलाई थप अधिकार दिने प्रस्ताव गरेको छ। बिएनपीले सुधार संसद्मार्फत मात्र अनुमोदन गर्नुपर्ने तर्क गर्दा अन्य दलहरूले चुनावअघि कानूनी मान्यता दिनुपर्ने माग राखेका छन्। जमात र एनसिपीले जनमतसङ्ग्रह वा माग पूरा नहुँदासम्म चुनावमा सहभागी नहुने चेतावनी दिएका छन्।
यसबीच, अवामी लिगलाई प्रतिबन्ध लगाइए पनि अन्य राजनीतिक समूहको प्रतिबन्धबारे दलहरू असहमति जनाइरहेका छन्। युनुसले बिएनपी नेता तारिक रहमानसँग भेट गरेपछि पक्षपातको आरोप खेपिरहनुभएको छ, जसले जमात र एनसिपीलाई असन्तुष्ट बनाएको छ।
अन्तरिम सरकार कानून–व्यवस्था समस्यामा फसिरहेको छ। यस वर्ष मात्र १२४ वटा भिडन्तका घटना दर्ता भएका छन् भने हत्या, बलात्कार र डकैती बढेको प्रहरी तथ्याङ्कले देखाएको छ। विश्लेषकहरूका अनुसार युनुसले विश्वसनीय निर्वाचन गर्न सेनाको पूर्ण समर्थन आवश्यक छ।
रासस/एएफपी



















