काठमाडौं — जेनजी आन्दोलनपछिको आर्थिक अनिश्चितताबीच खुलेको शेयर बजारमा आज पनि तीव्र गिरावट देखिएको छ। लगातार तेस्रो पटक सर्किट ब्रेक लागेपछि नेप्सेले आजका लागि सम्पूर्ण कारोबार बन्द गरेको छ।

आज बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेपछि पहिलो सर्किट ब्रेक लाग्यो। २० मिनेट स्थगित भएको कारोबार पुनः सुरु भएपछि सूचक अझै ओरालो लाग्दा दोस्रो सर्किट ब्रेक लागेर थप ४० मिनेट रोकियो। तर सूचकको गिरावट नरोकिएपछि नियमानुसार तेस्रो सर्किट ब्रेक लागी बाँकी कारोबार स्थगित गरिएको हो।

विश्लेषकहरूका अनुसार लगातारको गिरावट लगानीकर्तामा त्रास फैलिएको संकेत हो र बजार स्थिरताका लागि नियामक निकायले थप कदम चाल्नुपर्ने देखिएको छ।