काठमाडौं – डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताहरूले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्ने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।
पार्टी अध्यक्षलाई राजीनामा दिन दिएको अल्टिमेटमपछि राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्न उपयुक्त समय भएको प्रतिक्रिया दिएका थिए। पार्टी छोडेका प्रवक्ता डा. यादवले भने, “हामी नयाँ पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं। उहाँलाई सजिलो होस् भनेर पार्टी छोडेका हौं।”




















