काठमाडौँ – भदौ २४ गतेको आन्दोलनमा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित गर्ने र सबैलाई दसैं भत्ता दिने घोषणा गरेको छ।

देशभरका २८ मध्ये २२ शाखामा आक्रमण हुँदा १२ शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन्। उपत्यकाभित्रका नक्साल, महाराजगञ्ज, बौद्ध–चुच्चेपाटी, कोटेश्वर र बालुवाटार शाखा तथा उपत्यकाबाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरूलाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै भने,

“हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ। हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ। ऋण गरेरै भए पनि सबैलाई दसैं मनाउने व्यवस्था गर्छौँ।”

उनले उपत्यकाभित्रका शाखा चार महिनाभित्र र उपत्यकाबाहिरका शाखा १० महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। कम्पनीले हाल सञ्चालनमा रहेका स्टोरहरूमा कर्मचारीको रोजगारी सुनिश्चित गर्ने जनाएको छ।

गत आर्थिक वर्षमा भाटभटेनीले २७ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको थियो। गुरुङले आफू र कम्पनीलाई निशाना बनाइएका घटनाप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माण अवधिभर ग्राहकहरूलाई धैर्य गर्न आग्रह गरे।