काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनालमाथि कडा प्रहार गरेका छन्। उनले अर्थमन्त्रीले बजेटलाई ‘गेम चेन्जर’ भन्दै प्रचार गरे पनि जनताका लागि यो ‘विकास डेन्जर’ बनेको टिप्पणी गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन। एक खर्ब खोजिएको प्रचार गरियो, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई असफल देखाउने प्रयास गरियो। गाउँका योजना काटियो, सामान्य जनताको सुविधा काटियो, तर ठालूहरूको सुविधा जोगाइयो। अनि प्रचारमा ऐतिहासिक भनियो।”
उनले अर्थमन्त्रीको निर्णयलाई ‘पहिलो गाँसमा नै ढुङ्गा चपाएको’ भन्दै जनविरोधी र ग्रामीण क्षेत्र विरोधी भएको दाबी गरे।
अर्थमन्त्री खनालले भने प्रस्तुत बजेटलाई अर्थतन्त्रलाई सही दिशामा लैजाने ‘गेम चेन्जर’ भन्दै बचाउ गरेका छन्। उनका अनुसार बजेटले दीर्घकालीन सुधार र संरचनागत परिवर्तनको आधार तयार गर्ने दाबी गरिएको छ।


















