बेलबारी— मोरङको बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा कसैले पनि रकम संकलन नगर्न सार्वजनिक चेतावनी दिएको छ। भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा नगरपालिका र त्यसका कार्यालयहरूमा भएको भौतिक क्षति र तोडफोडका कारण केही व्यक्तिहरूले रकम संकलन गरिरहेको सूचना प्राप्त भएपछि यस्तो कदम चालिएको हो।

प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले विज्ञप्ति जारी गर्दै भनेका छन्,

“क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बेलबारी नगरपालिकाबाट कुनै पनि संस्था, संगठन वा व्यक्तिलाई रकम संकलन गर्ने अनुमति छैन। नगरपालिकाको नाममा रकम संकलन भइरहेको भनी भ्रममा नपर्न नगरबासीलाई आग्रह गर्दछौं। सबै पुनःनिर्माण प्रक्रिया आधिकारिक ढंगले मात्र अघि बढाइनेछ।”

नगरपालिकाले जनाएको छ कि जेन्जी आन्दोलनका कारण भवन, कार्यालय संरचना र सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ। यसै कारण बेलबारी–८ लगायतका वडामा केही व्यक्तिहरूले पुनःनिर्माणका नाममा रकम संकलन गरेको समाचार प्रकाशित र प्रसारित भइसकेको थियो।

नगरपालिकाले सबै नागरिकलाई केवल आधिकारिक निकायमार्फत मात्र सहयोग तथा दान दिन आग्रह गरेको छ र गैरआधिकारिक संकलनबाट हुन सक्ने धोखाधडी र भ्रमबाट सचेत रहन आग्रह गरेको छ।